दफा ३४
ऋण वा डिबेञ्चर उठाउने
: (१) कुनै पब्लिक कम्पनीले ऋण वा डिबेञ्चर उठाउन आवश्यक
ठानेमा त्यसको कारण, त्यसबाट सम्पन्न हुने कार्य योजना र त्यसको लागि आवश्यक बजेट
समेत निर्धारण गरी कम्पनीको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण वा
डिबेञ्चर उठाउन सक्नेछ ।
तर कारोबार शुरु गर्ने स्वीकृति लिई आफ्नो जारी पुँजी पूर्णरुपमा चुक्ता नभएसम्म
डिबेञ्चर उठाउन सकिने छैन ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) को अधीनमा रही
कम्पनीले अघिल्ला साहूहरुलाई लेखिदिएको सुरक्षणले खामेसम्म सोही सुरक्षण राखी अघिको साहू
र थैली समेत सबै स्पष्ट देखाई अरु ऋण वा डिबेञ्चर उठाउन सक्नेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीले लिए वा दिएको
ऋणको शर्त, भाखा र ब्याज सम्बन्धी कुराहरु साहू र आसामीका बीचमा भएको लिखत वा करार
बमोजिम हुनेछ ।
(४) कम्पनीले उपदफा (१) वा (२) बमोजिम ऋण वा डिबेञ्चर उठाउने भएमा त्यसको
कारण सहितको जानकारी कार्यालयलाई दिनु पर्नेछ ।